सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट ११ लाख ३३ हजार भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्सा मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले १० लाख ५६ हजार ३३० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वास्थित नाकाबाट सशस्त्र प्रहरीले विभिन्न सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, कपडा, जुत्ता, मोबाईल पार्टस र कम्प्युटर पार्टस बरामद गरिएको हो ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल बिओपि अमरपट्टीबाट खटिएको टोलीले पनि भन्सार छलीका कपडा बरामद गरेको छ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ छठघाटबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७६ हजार ९८० रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
उनकाअनुसार बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।