सरकारले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वाग्रही ढंगले उपसचिव उर्मिला काफ्लेको भ्रमण रद्द गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ मागेकी छिन् ।
बिहीबार बसेको राज्य व्यवस्था समिति बैठकमा राईले राजनीतिक प्रतिशोध राखेर कर्मचारीमाथि डन्डा चलाइएको दाबी गरेकी थिइन् । समितिमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले आफूले काफ्लेको भ्रमण रोकेको स्वीकार गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई ४/५ दिनदेखि बोलाउँदा पनि मन्त्रालयमा नआएको उनको दाबी छ ।काफ्लेले जीतपुरसिमराबाट पायक पर्ने ठाउँमा सरुवा गर्छौं भन्दा पनि नसुनेको मन्त्री गुप्ताले बताए ।
काठमाडौं बसेर पनि मन्त्रालयलाई नटेरेको भन्दै उनले भने, ‘हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने भनेर एलाभेन्थ आवरमा मैले रोकेको हुँ ।’
मन्त्री गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार ९१८ भदौ० भिसा पाएकी काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका थिए । काफ्लेसहित १२ जना कर्मचारी ‘पब्लिक फिनान्सियल म्यानेजम्येन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुप्ताले नै विदेश जान रोक्ने निर्णय गरेका थिए ।