२३ भदौ, पोखरा । घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिने क्रममा पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवर दोषी ठहर भएका छन् ।
गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात पक्राउ परेका थिए । त्यसलगत्तै यही प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।पोखरा १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरज पक्राउ परेका हुन् ।अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर भइसकेपछि बयान फेरेको आरोपमा अख्तियारले पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि पनि साउन १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रुपमा काम गरेका गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवामा कार्यरत कुँवरलाई भने उनीहरुकोभन्दा आधा सजाय सुनाइएको छ । मतियार सुरजलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला भएको विषेश अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।
यही घुस प्रकरणमा अदालतमा बयान फरेको आरोपमा मुद्दा चलाइएका केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई भने सफाइ दिइएको छ । तिवारी र पौडेलले अख्तियारमा दिएको बयानको अदालतमा प्रतिकूल हुनेगरी बकपत्र गरेको उजुरी थियो । नियोजित रुपमै बयान फरेको प्रमाणित भएपनि उनीहरुलाई पनि भ्रष्टाचार मुद्दा चलाइएको थियो । तर, उनीहरुलाई अदालतले सफाइ दिएको छ ।
पोखरा महानगरमा घर नक्सा अनुमतिदेखि निर्माण सम्पन्नतासम्मका काममा घुस लेनदेन हुने गुनासो सर्वसाधारणले गर्दै आएका थिए ।