त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् ।
प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्रलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।उनीबाट सुनको एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद गरेको छ ।
त्यसैगरी देवराजलाई भने बाह्य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।