Birgunj News24
नारायणी अस्पतालमा क्यान्सरको उपचार सेवा शुरु ,स्वास्थ्य मन्त्री पौडेलले गरे उद्घाटन

वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु गरिएको छ । मधेश प्रदेशमा पहिलो पटक नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा यो सेवा मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । यससँगै अब मधेश प्रदेशका क्यान्सर रोगीहरूलाई काठमाडौं, चितवन वा भारत जानुपर्ने बाध्यता हटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै भने, “सातै प्रदेशमा अंग प्रत्यारोपण सेवा र मुटुको शल्यकृया सेवा विस्तार गर्ने सरकारको योजना अन्तर्गत मधेश प्रदेशमा क्यान्सर उपचार सेवा सुरु गरिएको छ ।” उनले मन्त्रालयले यसका लागि आवश्यक सबै प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट मेसु डा एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। उज्वल चालिसेले क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग, जनशक्ति व्यवस्थापन, र भौतिक पूर्वाधारको विकासबारे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार भक्तपुर क्यान्सर अस्पतालले आवश्यक जनशक्ति, विशेषज्ञ तालिम, र प्राविधिक सहयोग प्रदान गर्नेछ भने नारायणी अस्पतालले भौतिक पूर्वाधार र उपकरणहरूको व्यवस्थापन गर्नेछ ।

६ शय्याको अंकोलोजी वार्ड सञ्चालनमा
नारायणी अस्पतालका निमित्त मेसु डा। हकका अनुसार क्यान्सर उपचार सेवाका लागि प्रारम्भिक चरणमा ६ शय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको छ । उनले यो सेवा सुरु भएपछि मधेश प्रदेशका क्यान्सर रोगीहरूले नजिकै उपचार पाउने र यसले ठूलो राहत मिल्ने बताए । यसअघि वीरगञ्जसहित मधेशका जनता क्यान्सरको उपचारका लागि भरतपुर, काठमाण्डौ तथा भारतमा जानुपर्ने बाध्यता रहेको थियो । 

वीरगञ्जमै क्यान्सर सम्बन्धी सबै समस्याको समाधान
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। चालिसेले नारायणी अस्पतालमा क्यान्सरको स्क्रिनिङ, डाइग्नोसीस, केमोथेरापी, पालिटिएभ केयर, रेफरल, र काउन्सिलिङ सेवा उपलब्ध गराइएको जानकारी दिए । प्रारम्भिक चरणमा भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अंकोलोजिष्ट सहित दुई जना विशेषज्ञ चिकित्सक र तालिमप्राप्त दुई नर्स खटाएको छ । साथै, प्रत्येक महिनामा एकपटक भक्तपुर अस्पतालबाट विशेषज्ञ चिकित्सकहरू नारायणी अस्पतालमा आएर क्यान्सर रोगीहरूको उपचार गर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य सेवाको विस्तारमा सरकारको प्रतिबद्धता
स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर उपचार सेवाको शुभारम्भ गर्दै प्रदेशका सबै अस्पतालहरूमा जनशक्ति थप्न सरकार प्रयासरत रहेको तर आर्थिक अभावका कारण तत्काल दरबन्दी खोल्न नसकिएको बताए । उनले भने, “हामीसँग सीमित जनशक्ति छ, तर तिनीहरूको प्रभावकारी उपयोग गर्दै स्वास्थ्य सेवामा गुणस्तर सुधार्न निर्देशन दिएका छौं ।” मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा घट्दो विश्वासलाई पुनःस्थापित गर्न सबै पक्षले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

उनले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवासँगै छिट्टै अंग प्रत्यारोपण र मुटुको शल्यकृया सेवा पनि सुरु गरिने जानकारी दिए । उनका अनुसार ७ वटै प्रदेशमा कम्तिमा एक अस्पतालमा अंग प्रत्यारोपण सेवा सञ्चालन गर्ने सरकारको योजना अन्तर्गत मधेश प्रदेशमा यसको प्रक्रिया अघि बढाइएको छ ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा मापन शाखाका प्रमुख डा। मदनकुमार उपाध्याय, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, मणिन्द्रलाल नेपाली लगायतको उपस्थिती रहेको थियो । 

क्यान्सर उपचार सेवाको यो महत्त्वपूर्ण सुरुवातले मधेश प्रदेशका जनतालाई क्यान्सरजस्तो जटिल रोगको उपचारमा सहज पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update