बाराको सदरमुकाम कलैया स्थित बैंक रोडका स्थानीय बासिन्दा र व्यापारीहरू दिनहुँ धर्नामा बसेका छन्। उनीहरूले बजारसँग जोडिएको यो सडकको शीघ्र कालोपत्रे गर्न माग गर्दै बुधबार पनि प्रदर्शन जारी राखे। यसअघि मंगलबार पनि उनीहरूले धर्ना दिएका थिए।
धर्नाको नेतृत्व कलैया उपमहानगरपालिका वडा नं। ४ का पूर्व वडाध्यक्ष जटाशंकर सहनीले गरिरहेका छन्। स्थानीय व्यापारीहरूको सहयोगमा यो आन्दोलन अगाडि बढाइएको सहनीले बताएका छन्। उनका अनुसार स्थानीय वडा कार्यालय र उपमहानगरपालिकालाई बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर धर्नामा बस्नुपरेको हो।
सडक वरपर नाला निर्माण र माटो जाँच लगायतका प्रारम्भिक कामहरू सम्पन्न भइसकेका छन्, तर सडक कालोपत्रे गर्न विलम्ब भइरहेको छ। स्थानीयहरूले बताएको अनुसार, नगरपालिकाले लगभग ६ महिनाअघि सडक खनेर छोडिदिएको थियो, र दबाब आएपछि केवल बेस मात्र बनाइएको थियो।
विवेकशील साझा पार्टीका बारा जिल्ला अध्यक्ष डा। सुशिल साहका अनुसार, धर्ना सडक निर्माण नभएसम्म जारी रहनेछ। उनले २५० मिटर मात्रको सडक बनिनु आश्चर्यजनक भएको बताए। ूयो नगरपालिकाको निर्लज्जता हो उनले भने।
सडकमा सवारीसाधन गुड्दा वरपरका पसलका सिसाहरू फुटेको व्यापारीहरूले गुनासो गरेका छन्। स्थानीयहरूलाई बस्न समस्या परेको भन्दै, स्थानीय संजय दासले सवारी साधनले उडाएको धूलोका कारण कपडा, ओछ्यान लगायत घरधुरी धूलै धूलोले ढाकिने गरेको बताए।
कलैया उपमहानगरपालिकाले भने केही दिनभित्रै सडक कालोपत्रे गर्ने काम सुरु हुने जानकारी दिएको छ। नगरपालिकाको एक स्रोतका अनुसार, पानी नपरेमा एक दुई दिनमै काम सुरु हुनेछ।
धर्नामा किराना व्यवसायी संघका पूर्व अध्यक्ष विष्णु प्रसाद उपाध्याय, विवेकशील साझा पार्टीका डा। सुशिल साह, बलिराम दास, पुरुषोत्तम केशरी लगायत अन्य व्यक्तिहरूको पनि सहभागिता रहेको छ।