प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि आफूहरूले प्रतिवाद गरेको चौतारीका उपाध्यक्ष राजेश राईले बताए ।
‘प्रेस काउन्सिलले हेर्नुपर्ने विषयमा सीधै प्रहरीले पक्राउ गर्न मिल्दैन भनेर प्रतिकार गर्यौं’, उनले भने ।
बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स नामक अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।
यस्तै गणेश बस्नेतलाई पक्राउ गर्न खोजिउको भन्दै नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको ठहर छ ।