Birgunj News24
डोकैला बहुअरी तिलावे पुल भासिँयो, जनप्रतिनिधि मौन ,यात्रुलाई समस्या

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिका वडा नम्बर ४ सँगको सिमानामा रहेको तिलावे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

पुल पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा पर्छ, जसका सङ्घीय सांसद अजय चौरसिया र प्रदेश सांसद श्याम पटेल हुन् । पुल भासिएपछि स्थानीय जनतामा व्यापक निराशा फैलिएको छ, किनकि दैनिक हजारौँ नागरिक यस पुलबाट यात्रा गर्ने गर्दथे ।

पुल भासिनु केही महिनाअघि नै यसको कमजोर अवस्थाको बारेमा स्थानीयले जनप्रतिनिधिहरू र सिँचाइ विभागलाई जानकारी गराइसकेका थिए । डोकैला बहुअरी निवासी युवा नेता चन्दन यादवले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पुलको पहिलो स्थलगत रिपोर्टिङ गरेका थिए, जसपछि जनप्रतिनिधिहरू र सिँचाइ विभागले माटो पुर्ने काम गराए पनि ठोस समाधानको प्रयास नगरेको स्थानीयहरूको आरोप छ ।
पुलको सुरक्षाका लागि सिँचाइ विभागका प्रमुखले पनि निरीक्षण गरेका थिए, तर कुनै ठोस कदम चाल्न नसकिएकाले पुल पूर्ण रूपमा भासिएको हो । पुल भासिएपछि आवतजावत रोकिएको छ, जसले वीरगञ्ज र ग्रामीण क्षेत्रका नागरिकलाई थप कठिनाइमा पारेको छ । गण्डक भएर वीरगञ्ज जाने सर्वसाधारणलाई निकै मर्का परेको छ ।

स्थानीयहरूले पुल निर्माणका लागि राजनीतिक नेताहरूले तत्काल दबाब दिनुपर्ने आवश्यकता औँल्याएका छन् । तर, हालसम्म कुनै ठोस पहल नहुँदा स्थानीय जनतामा निराशा र आक्रोश देखिएको छ ।

पुल मर्मत र पुनर्निर्माणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई दबाब दिने जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाइसकेको भए पनि यस क्षेत्रका नागरिकहरू समाधानका लागि तत्काल कदम चाल्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update