वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् । नगर प्रमुख राजेशमान सिंहसँगको सहमति पश्चात् सोमबारबाट सुरु गर्ने भनिएको पेन डाउन लगायतका विरोधका कार्यक्रम कर्मचारीहरूले फिर्ता लिएका हुन् ।
वीरगञ्ज महानगरपालिका स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष मुकेश गुप्ताका अनुसार आन्दोलनको कारण प्रमुख प्रशासकीय अधिकृत मातृका प्रमुख भट्टराईलाई बुझाइएको माग पत्रमा आधारित थियो ।
सङ्घले गत भदौ २७ गते प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न माग राखेको थियो । सोमबार भएको सहमतिमा साउन, भदौ र दसैँ पेस्की समेतको तलब भत्ता एक हप्ताभित्र उपलब्ध गराउने र अवकाश प्राप्त कर्मचारीहरूको रोकिएको उपदानको रकम दसैँ र छठ पर्वबिच उपलब्ध गराउने सहमति भएको छ ।
नगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत अमेरिकाबाट फर्किएपछि कर्मचारी सङ्घका पदाधिकारी र कार्यालय प्रमुखसँग बसेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा कर्मचारीहरूको वृत्ति विकास, तह वृद्धि, करार कर्मचारीहरूको स्थायी नियुक्ति लगायतका विषयहरू समावेश गरिनेछ ।