Birgunj News24
बाराका विद्यालयहरुमा अब राजनीति गतिविधि गर्न नपाईने

शिक्षा विकास तथा समन्वय इकाइ बाराले विद्यालयमा कुनै प्रकारको राजनीति गतिविधि गर्ने÷गराउने प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

इकाइ प्रमुख हेमराज खतिवडाले आइतबार सार्वजनिक सूचना गरी विद्यालयमा राजनीति गतिविधि गराउने त्यस्ता शिक्षकलाई नियमानुसार कारबाहीको चेतावनी दिएका हुन् । पछिल्लो केही दिनयता प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीका नेताले कलैया उपमहानगरपालिकाका श्री ३ चन्द्र र पन्नादेवी मावि लगायतमा कक्षाकोठामै प्रवेश गरेर विद्यार्थीहरुलाई ‘नो टिचर, नो टिचिङ’ भनी विद्यार्थीहरुसित नारा लगाउन थालिएको भिडियो भाइरल भएपछि इकाइले यस्तो चेतावनी दिएको हो । तर इकाइले ती दलका नाम र त्यस्ता गतिविधि गराउने शिक्षकलाई कस्ता किसिमको कारबाही गर्ने भन्ने सूचनामा उल्लेख गरेको छैन ।

सूचनाको बोधार्थ भने जिल्ला प्रशासन कार्यालय बारालाई दिइएको छ । ‘राजनीति गतिविधिले बालबालिकाको पठनपाठन प्रभावित भएको सूचना प्राप्त भएपछि चेतावनी दिइएको छ,’ इकाइ प्रमुख खतिवडाले भने, ‘शिक्षकले त्यस्तो गरे÷गराएको पाइएमा कारबाही गरिनेछ ।’

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ मा कुनै राजनीतिक दल वा तिनका भ्रातृ संगठनले राजनीतिक गतिविधि नगर्न÷नगराउन व्यवस्था गरेकोले त्यस्ता गतिविधि हुन नदिन सचेत गराइएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update