Birgunj News24
पश्चिम बङ्गालमा चिकित्सकहरूको आन्दोलन स्थगित

भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। योसँगै पछिल्लो ४१ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरू काममा फर्कने भएका हुन् ।

पश्चिम बङ्गालको कोलकोत्तास्थित आरजी कर मेडिकल कलेज एवं शिक्षण अस्पतालमा रेजिडेन्ट चिकित्सकको ड्यूटीको बेला बलात्कार र हत्या भएपछि त्यहाँका चिकित्सकहरू आन्दोलित भएका थिए ।


जुनियर चिकित्सकहरूको सङ्गठन वेस्ट बङ्गाल जुनियर डाक्टर्स फ्रन्टले शनिवार सीबीआई कार्यालयसम्म मार्च गर्ने र घटनाको जाँच सक्दो चाँडो पूरा गर्न माग गर्ने बताएको छ ।

साथै सङ्गठनले बहिरङ्ग सेवा माग पूरा नभएसम्म बन्द रहने भन्दै आपतकालीन सेवा सुचारु गर्ने बताएका छन् ।

घटनामा संलग्न दोषीको पत्ता लगाइ चाडोभन्दा चाडो सजाय दिन, मेडिकल कलेजका पूर्व प्राधानाध्यापक डा।सन्दीप घोषविरुद्ध कडा कारबाही हुनुपर्ने, कोलकोत्ता प्रहरीका कमिश्नर विनित गोयर र स्वास्थ्य सचिव नारायण स्वरुपको राजीनामा, स्वास्थ्यकर्मीका लागि उचित सुरक्षा व्यवस्था र सरकारी स्वास्थ्य संस्थामा चेतावनी दिने प्रवृतिको अन्त्य हुनुपर्ने माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका थिए । यी पाँचमध्ये पश्चिम बङ्गाल सरकारले ३ मागमा सहमति जनाइसकेको छ ।

गत अगस्ट ९ मा आरजी कर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरको अस्पतालमै बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update