जनता समाजवादी पार्टी जसपा० नेपालका पर्सा जिल्लाका सचिव तबरेज अहमदसहितका युवा नेताहरु जनता समाजवादी पार्टी जसपा० मा प्रवेश गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर उनीहरु अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन् ।जसपा नेपालका जिल्ला सचिव अहमदसंगै वीरगन्ज महानगर सचिव असलम अन्सारी र समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकीपनि राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन्।
शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा जसपा नेपालका उपमहासचिव तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र जसपाका केन्द्रिय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवप्रवेशीहरुलाई माला लगाएर पार्टीमा स्वागत गरे ।
जपसपामा प्रवेश गरेका जिल्ला सचिव अहमदले सत्तामा रहदाँ मधेसको मुद्धा बिर्सिने तर सत्ताबाट बाहिरिने बित्तिक्कै मधेसको मुद्धा उचाल्ने प्रवृति भएका उपेन्द्र यादव र उनको पार्टीबाट मधेसको हित नहुने देखेर आँफुहरुले जसपा नेपाल परित्याग गरेको प्रतिक्रिया दिए । विगतको मधेस आन्दोलनमा रगत र पसीना बगाएका नेताहरु अशोक राई नेतृत्वको जसपामा रहेकाले उनिहरुसंगै फेरि एक भएर मधेसका लागि संघर्ष गर्न आँफुहरु जसपामा प्रवेश गरेको उनले बताए ।