Birgunj News24
गर्मी बढेपछि, बारा पर्साका बिद्यालय दुईदिनको लागि बन्द

बारा र पर्सा जिल्लामा केही दिनदेखि गर्मी बढेको छ। अचानक गर्मी बढेका कारण सर्वसाधारणहरुको जनजीवन प्रभावित भएको छ।

गर्मीका कारण किसान, दैनिक ज्यालादारीको काम गर्ने मजदूर, घरबाहिर काम गर्ने रिक्सा, ठेला चालकलगायतलाई बढी समस्या भएको छ। बढेको गर्मीका कारण सबैभन्दा बढी स्कुले बालबालिका प्रभावित भई विद्यालयमा पठनपाठनमा समस्या देखिएको छ।

अहिले बारा, पर्साका विद्यालयहरुमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पठनपाठन हुँदै आएको छ। अत्याधिक गर्मीकै कारण सोमबार पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्ला उच्चांगल माविका विद्यार्थी बेहोस भएका छन्। विद्यालयमा अध्यनरत आठ जना विद्यार्थी गर्मीले बेहोस भएको प्रधानाध्याप्क ओमप्रकाश रौनियारले जानकारी दिए। उनीहरुलाई पोखरियास्थित प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको उनले बताए।

विद्यार्थीको चाप धेरै रहेको र अत्यधिक गर्मीमा पंखाले पनि काम नगर्दा विद्यार्थी बेहोस भएको रौनियारले बताए। गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि पोखरिया नगरपालिकाले सोमबार सूचना जारी गरेर नगरपालिकामा रहेका सबै विद्यालयमा ८ गतेदेखि बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न भनेको छ।

यस्तै, पर्साकै बिन्दबासिनी गाउँपालिका, पकहा मैनपुर र जिरा भवानी गाउँपालिकाले पनि पालिकाअन्तर्गतका विद्यालयमा बिहानी सत्रमा सञ्चालन गर्न सूचना जारी गरिसकेका छन्। यता वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण विधालय गर्मीको कारण २ दिन बन्द गरिएको महानगरले जनाएको छ । 

उता बाराको कलैया उपमहानगरपालिकाले पनि सूचना जारी गरेर सोमबारदेखि सबै सामुदायिक, संस्थागत विद्यालयमा अगामी असोज १६ गतेसम्म बिहान सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update