Birgunj News24
चौतारीका नेताहरुले अब जन्मदिन लगायतको उत्सवमा फजुल खर्च नगर्ने,अध्यक्ष बस्नेतले कोषमा जम्मा गरे पाँच हजार एक सय 

नेकपा एमाले निकट प्रेस चौतारी नेपालले जन्म दिन लगायतको उत्सवहरुमा फजुल खर्च नगर्ने अभ्यासको थालनी गरेको छ । 

संगठनका नेताहरुले आफ्नो जन्मोत्सव तथा अन्य उत्सवहरू होटेलमा नमनाई संगठनको केन्द्रीय कार्यालयकै हलमा मनाउने र होटेलमा हुने खर्च प्रेस चौतारी नेपालको कोषमा स्वैच्छिक सहयोग गर्ने काम थालेका छन् ।
बुधबार मात्र संगठनका राष्ट्रिय अध्यक्ष गणेश बस्नेतले आफ्नो जन्मदिन संगठनकै केन्द्रीय कार्यालयमा मनाइ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपालको पत्रकार कल्याण कोषमा ५ हजार १ सय रुपैँया जम्मा गर्नुभएको छ ।

‘अनेक फजुल खर्च गर्नुभन्दा कार्यालयमा नै जन्मदिन मनाउने र त्यहाँ हुने खर्चको केही अंश पत्रकार कल्याण कोषमा जम्मा होस् भनेर यस्तो काम सुरु गरेका हौँ’, अध्यक्ष बस्नेतले भन्नुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राइ, महासचिव हिरामान लामा, उपमहासचिव राजु सुवेदी, कोषाध्यक्ष इन्द्र आचार्य, सचिव हरिबल्लभ नेपाल, बिष्णु तारुकेलगायतका पदाधिकारी तथा केन्द्रीय सदस्य लगायतको सहभागिता रहेको थियो ।

यस्तो कार्यले प्रेस चौतारी नेपालले सुरु गरेको पत्रकार कल्याण कोष बढाउने अभियानमा सहयोग पुग्ने संगठनका महासचिव हीरामान लामाले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update