अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन भएका छन् ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ ।सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म १ हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए ।यसअघि गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा अवरुद्ध सडक सञ्चालन गर्न सम्वन्धीत निकायलाई निर्देशन दिएका थिए ।