Birgunj News24
जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्सामा स्तनपान कक्ष सञ्चालनमा

पर्साका दुई सरकारी कार्यालय स्तनपान कक्षको शुभारम्भ गरिएको छ । वीरगञ्ज लेडिज सर्कल ३ का महिलाहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा स्तनपान कक्षको शुभारम्भ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकरी दिनेश सागर भुसालले जिल्ला प्रशासनमा निर्मित स्तनपान कक्षको उद्घाटन गरे भने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीले प्रहरी कार्यालयमा निर्मित कक्षको उद्घाटन गरेका छन् । 
करिब एक लाखको लागतमा स्तनपान कक्ष निर्माण भएको वीरगञ्ज लेडिज सर्कल–३ का अध्यक्ष खुश्बु सिंघानियाले जानकारी दिईन् । उनकाअनुसार सरकारी कार्यालयमा आउने महिलाहरुले बालबालिकालाई स्तनपान गराउनका लागि सहज वातावरण बनाउन स्तनपान कक्ष निर्माण गरिएको हो ।
जिल्लाकै बढी चाप हुने उक्त कार्यालयहरुमा आउने महिलाहरुले स्तनपान गराउन समस्या भएको देखिएपछि स्तनपान कक्ष निर्माण गरीएको उनको भनाई छ । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष सुष्मा गौतम, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update