पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका तथा दोस्रो सदरमुकाम पोखरियामा चाडपर्वलाई लक्षित गर्दै प्रहरीद्वारा यात्रु सहायता कक्ष हेल्प डेस्क स्थापना गरिएको छ ।
वीरगञ्जस्थित बस पार्कमा सञ्चालनमा आएको यात्रु सहायता कक्षको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका छन् । कक्ष यात्रुहरूको सुविधाका लागि चाडपर्वको समयमा यात्राको क्रममा पर्ने समस्याहरू समाधान गर्न, थप सहायता उपलब्ध गराउन तथा यातायात व्यवस्थालाई सहज बनाउन सुरु गरिएको हो ।
यात्रु सहायता कक्ष बडादसैँ, दीपावली, र छठ पर्वलाई ध्यानमा राख्दै यात्रुको भीड, सवारी साधनको अभाव, तथा क्षमता भन्दा बढी यात्रु ओसारपसार गरिने समस्याहरूलाई व्यवस्थापन गर्नका लागि स्थापित गरिएको हो । साथै, सवारी चालक वा टिकट काउन्टरहरूले यात्रुहरूबाट बढी भाडा लिन सक्ने जोखिमहरूलाई समेत नियन्त्रण गर्ने उद्देश्य राखिएको छ ।त्यस्तै यात्रुहरूको आवतजावतमा पर्ने कुनै पनि समस्या समाधानका लागि प्रहरीको सहयोग तुरुन्त उपलब्ध गराउने व्यवस्था यस कक्षमार्फत गरिएको छ भने चाडपर्वको समयमा कतिपय सवारी सञ्चालकहरूले बढी भाडा लिने गरेका गुनासाहरू आउने भएकाले यसलाई रोक्न सहायता कक्षको स्थापना गरिएको हो ।
त्यसै गरी यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न, यात्रुको समस्याहरू समाधान गर्न, र हराएको सामान पत्ता लगाउन यो सहायता कक्ष महत्त्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ । सवारी साधनहरूले यात्रुको क्षमताभन्दा बढी यात्रु ओसारपसार गरेर दुर्घटना निम्त्याउने जोखिमलाई पनि कम गर्न यो पहल गरिएको छ ।
यस यात्रु सहायता कक्षको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, कक्षको मुख्य काम यात्रुको सहयोगका साथै सवारी व्यवस्थापनमा प्रभावकारी सेवा पुर्याउनु हो ।
यात्रुहरूले कुनै पनि समस्या आएमा वा सामान छुटेको खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा ९९८५५०९०७०१० र इलाका प्रहरी कार्यालय पोखरिया ९९८५५०२७०९९० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।
प्रहरी चौकी बसपार्कका असई प्रहरी सहायक निरीक्षक बलराम चौधरीका अनुसार हेल्प डेस्कमा आएर यात्रुले गुनासो वा समस्या राख्न सक्नेछन् । अहिलेसम्म कसैले पनि केही गुनासो नगरेको बताउँदै उनले यात्रुको गुनासो आएमा सोही अनुसार सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । यात्रु सहायता कक्षको स्थापनासँगै चाडपर्वका समयमा यात्रुहरूको आवतजावत थप सुरक्षित र व्यवस्थित हुने विश्वास गरिएको छ