वीरगञ्जको बजारमा एक साता यता हरियो तरकारीको भाउ बढेको छ। असोज ११ र १२ गते परेको अविरल वर्षाले गाउँका तरकारी खेती डुबानमा परेर क्षति पुर्याएपछि उत्पादन घटेको र बजारमा पर्याप्त तरकारी आपूर्ति हुन नसकेका कारण भाउ बढेको व्यवसायीहरुले जनाएका छन्।
वीरगञ्जको प्रमुख तरकारी बजार मिनाबजारमा परवल १२० रुपैयाँ प्रति किलोग्राम, भेन्टा १३० रुपैयाँ, करेला १२० रुपैयाँ, बन्दा ८० रुपैयाँ, हरियो खुर्सानी २०० रुपैयाँ, बोडी १२० रुपैयाँ, घिरौंला ६० रुपैयाँ, रामतोरिया १२० रुपैयाँ, काउली १४० रुपैयाँ, र टमाटर २०० रुपैयाँमा बिक्री भइरहेको छ।
मिनाबजारका व्यापारी हरिओम कुर्मीका अनुसार, दुई दिनको वर्षाले तरकारी खेती डुबानमा परेर टिप्न तयार भएका तरकारीहरु नष्ट भएको र बजारमा मागको तुलनामा कम तरकारी आउँदा भाउ असमान्य रूपमा बढेको हो। भारतमा पनि वर्षा र बाढीका कारण उत्पादन घटेर तरकारीको आपूर्ति प्रभावित भएकाले भाउ झनै उकालो लागेको उनले बताए।
वीरगञ्जको बजार मौसमी र बेमौसमी हरियो तरकारीका लागि भारतमाथि निर्भर रहँदै आएको छ। त्यसबाहेक पर्सा, बारा र मकवानपुरका ग्रामीण भेगबाट पनि तरकारी आपूर्ति हुँदै आएको थियो। तर, वर्षा र डुबानले तरकारी खेतीमा व्यापक क्षति पुर्याएपछि बजारमा तरकारीको अभाव भएको छ।
तरकारीको भाउ वृद्धिमा व्यापारीहरूको मनोमानी
तरकारी बजारमा पर्याप्त आपूर्ति नभएको मौका छोपेर व्यापारीहरूले आफैं मनलाग्दी भाउ बढाएको उपभोक्ताहरूको गुनासो छ। किसानबाट पहिलेकै भाउमा खरिद गरिएको तरकारी व्यापारीहरूले वर्षा र डुबानको बहाना बनाएर महँगोमा बिक्री गरिरहेका छन्।
बजार अनुगमन गर्ने सरकारी निकायले खाद्यान्न, किराना, र लत्ताकपडा पसलमा मात्रै ध्यान दिएको र तरकारी बजारमा अनुगमन नगरेका कारण उपभोक्ताहरू मर्कामा परेका छन्।
सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक
तरकारीको भाउ असमान्य रूपमा बढेपछि उपभोक्ता र किसान दुवै प्रभावित भएका छन्। यस्तो अवस्थामा सम्बन्धित सरकारी निकायहरूले बजार अनुगमन र उचित मूल्य निर्धारणमा ध्यान दिनु आवश्यक भएको देखिन्छ