वीरगञ्ज । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका लेखापाल मन्दिप महतो भ्रष्टाचारको आरोपमा पुनः विवादमा मुछिएका छन् । हाल श्रम कार्यालय पर्साबाट पोखरिया नगरपालिकामा काजमा कार्यरत महतोमाथि नगरपालिकाको आर्थिक क्रियाकलापमा अनियमितता गरेको स्थानीयहरूले आरोप लगाएका छन् ।
स्थानीयका अनुसार, महतोले सेवाग्राहीहरूबाट व्यक्तिगत कमिसन ९पीसी० नलिई चेक जारी नगर्ने प्रचलनलाई निरन्तरता दिएका छन्, जसले नगरपालिकाको कामकाजमा गम्भीर समस्या उत्पन्न गरेको छ । नगरपालिकाको बजेटलाई गलत शीर्षकमा प्रयोग गर्दै महतोले आफ्नो व्यक्तिगत लाभका लागि आर्थिक गतिविधिलाई प्रभाव पारेको बताइन्छ ।
भ्रष्टाचारबाट आर्जित सम्पत्ति र ऐयासी जीवनशैली
महतो साधारण परिवारबाट भए तापनि, वीरगञ्जमा उनले धेरै सम्पत्ति आर्जन गरेको चर्चा भइरहेको छ । राधेमाई, पावरहाउस चौक, ओम आश्रम श्रीपुर, र अशोक वाटिका क्षेत्रहरूमा चार वटा फ्ल्याट तथा घडेरीहरू लिएको जानकारी प्राप्त भएको छ । स्थानीयहरूको आरोप छ कि उनले भ्रष्टाचारबाट आर्जित रकमलाई ऐयासी जीवनशैलीमा खर्च गरेका छन् ।
आर्थिक अनियमितता र बजेट मिचाइ
आर्थिक वर्ष २०८०र०८१ मा पोखरिया नगरपालिकाको सशर्त अनुदानको २२ करोड २८ लाख ८८ हजार रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकमलाई मिचेर अन्य शीर्षकमा खर्च गरिएको तथ्य बाहिर आएको छ । नियम अनुसार सोही शीर्षकमा खर्च गर्नुपर्ने भए पनि, महतोले कमिसनको लोभमा नियम उल्लङ्घन गरेको बताइन्छ ।
कारबाहीको सट्टा जिम्मेवारी थपिएको आरोप
महतोको भ्रष्टाचार सम्बन्धी आरोपहरू सार्वजनिक हुँदासम्म पनि, कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले कुनै कारबाही नगरी उनलाई छिपहरमाई गाउँपालिकामा थप जिम्मेवारी दिएको स्थानीयहरूले गुनासो गरेका छन् । यस कार्यले भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप छ ।
स्थानीयहरूको छानबिनको माग
पोखरिया नगरपालिकाका स्थानीय र सरोकारवाला व्यक्तिहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूलाई तत्काल छानबिन गरी दोषीलाई कानुनी कारबाहीको कठघरामा ल्याउन माग गरेका छन् । महतोले मिचेको रकम कुन शीर्षकमा खर्च गरिएको हो भन्नेबारे छानबिन भएपछि भ्रष्टाचारका थप गतिविधि बाहिर आउने विश्वास गरिएको छ ।