नेपालीको मुख्य चाडपर्व दसैँ, तिहार, र छठलाई लक्षित गर्दै वीरगञ्ज–रक्सौल नाकालगायत देशभरी नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ११६ वटा सहायता कक्षको स्थापना प्रक्रिया तीव्र बनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालका अनुसार, ११६ मध्ये ६६ सहायता कक्षहरूको स्थापना भइसकेको छ भने बाँकी कक्षहरू छिट्टै सञ्चालनमा आउनेछन् ।
चाडपर्वको समयमा सीमा नाकामा यात्रुहरूको सङ्ख्यामा वृद्धि हुने र उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै सहायता कक्षहरू स्थापना गरिएका हुन् । यात्रुहरूको सहज, सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यका साथ यी सहायता कक्षहरू सञ्चालनमा ल्याइएको हो ।
वीरगञ्ज–रक्सौल नाका मितेरी पुल नजिक शंकराचार्य गेट नजिक दुवै मुलुकका सुरक्षा निकायहरूसँगको समन्वयमा सहायता कक्षहरू सञ्चालनमा आएका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालका अनुसार, यी कक्षहरूले यात्रुहरूको सुरक्षाका साथै सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी, लुटपाट जस्ता घटनाहरूलाई नियन्त्रण गर्न मद्दत पुर्याउनेछन् । साथसाथै, अप्ठ्यारामा परेका यात्रुहरूलाई तत्काल सहयोग पुर्याउने व्यवस्था समेत गरिएको छ ।
देशका अन्य प्रमुख सीमा नाकाहरू इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, धनुषाको जटही, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा पनि यस्ता सहायता कक्षहरूको स्थापना गर्ने तयारी भइरहेको छ ।