डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिकामा गएराति भएको रात्रिबस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका(३ की ४५ वर्षीया जयमती बोहरा, २६ वर्षीया कमला बोहरा, उनको दुई दिनको शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ।
बस कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै थियो र दुर्घटना राति करिब साढे ११ बजेतिर अमरगढी नगरपालिका(७ खस्रेखानमा भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानले चालक निदाएको कारण बस सडकबाट तल खसेको हुनसक्ने अनुमान गरिएको छ।
बसका चालक २४ वर्षीय वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् र उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य १२ जना घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। घाइतेहरूमा पुर्चौंडी नगरपालिकाका विभिन्न व्यक्तिहरू तथा कञ्चनपुर र डडेल्धुराका स्थानीयहरू रहेका छन्।
प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ। घटनास्थलमा प्रहरीको टोली परिचालित छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।