वीरगन्ज महानगरपालिकाले भूसर्वेक्षण गर्ने कार्य सुरु गरेको छ । महानगरपालिकाले शुक्रबारदेखि ड्रोनमार्फत भू सर्वेक्षण कार्य सुरु गरेको हो ।
भू–तथ्यांक व्यवस्थापन गर्दै बैज्ञानिक ठेगाना प्रणाली लागु गर्न सर्वेक्षणको सुरुवात गरेको महानगरपालिकाले जनाएको छ । भू( सुशासनका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जनाए ।
नेपाल भारत प्रवेशद्बार शंकराचार्य महानगर प्रमुख सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुवात गरेका हुन् ।
बढ्दो सहरीकरणसँगै जनघनत्व बृद्धि हुँदै गए पनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठिनाइ हुँदै आएको थियो ।
भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख सिंहले बताए ।
भू–तथ्यांक व्यवस्थापन भए पछि बैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुँदा समग्र महानगरपालिकाको समृद्धिमा यसले काम गर्ने पनि उनको विश्वास छ ।
युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत यो परियोजना सुरु भएको हो ।
महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रालि र जीओभेसन प्रालिको संयुक्त प्राविधिक साझेदारीमा आजबाट ड्रोन परिचालन भएको छ ।
ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रालिले जनाएको छ ।