Birgunj News24
प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच आपसी सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल

काठमाडौं। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका सदस्य तथा सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भेटघाटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा गहन छलफल भएको थियो।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनले गरिबी उन्मूलन र चौतर्फी विकासका क्षेत्रमा गरेको असाधारण उपलब्धिहरूको प्रशंसा गर्दै नेपालले त्यसबाट लाभ लिन चाहेको बताउनुभयो। उहाँले हालै गठन भएको नेपाल सरकार एमाले र नेपाली कांग्रेसबीचको सहकार्यबाट राजनीतिक स्थिरता हासिल भएको उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि चीनको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सरकार–सरकार, जनता–जनता, व्यापारिक, पौराणिक, र सांस्कृतिक सम्बन्ध रहेका कारण उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको र चीनविरुद्ध कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो।
चिनियाँ नेता छेन् गाङ्गले महासचिव सी जिनपिङको निर्देशनअनुसार नेपालको भ्रमणमा आएको उल्लेख गर्दै नेपालको सुख, शान्ति, र समृद्धिमा चीनको सधैँ साथ रहने प्रतिवद्धता जनाउनुभयो। उहाँले नेपालका राजनीतिक दलहरूले गरेका निर्णयहरूको चीनले सम्मान गर्ने बताउँदै भ्रमणका क्रममा उठेका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने वाचा गर्नुभयो।
यस भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव र विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यहरू डा। अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, र नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update