Birgunj News24
पर्सामा यादव जाति शिक्षामा पछाडि, कुप्रथाको अन्त्यमा जोड दिनुपर्ने – अध्यक्ष यशवन्त यादव

वीरगञ्ज। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पर्सा जिल्लामा यादव समुदाय शिक्षामा पछाडि परेको भन्दै उच्च शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। पटेर्वा सुगौली गाउँपालिका वडा नं। ५ मा गोपाल सेवा समितिको क्षेत्रीय समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष यादवले यादव जाति रोजगार, व्यापार व्यवसाय तथा शिक्षामा पछाडि परेको बताए।

कार्यक्रममा यादवले मधेसी समाजमा व्याप्त बालविवाह, दाइजो प्रथा जस्ता कुप्रथाहरूलाई हटाउन यादव जातिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता पनि औंल्याए। उनले आफ्नो समुदायका गरिब र जेहेन्दार विद्यार्थीको शिक्षामा टेवा पुर्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

यसै अवसरमा शिक्षक हरिराज यादवले गोपाल सेवा समिति कुनै राजनीतिक दल नभई यादव समुदायको उत्थानका लागि समर्पित संस्था भएको बताए। समाजसेवी शैलेन्द्र यादवले पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा समितिको सक्रियता बढाउन आवश्यक रहेको र समुदायको विकासका लागि थप काम गर्नुपर्ने बताए।
सञ्चारकर्मी प्रमोद यादवले यादव समुदायको मुख्य पेशा गाईभैंसी पालन र परम्परागत कृषि रहेको बताउँदै, समुदायको जनसांख्यिक बलियो उपस्थितिलाई ध्यानमा राखी उनीहरूको उत्थानका लागि कार्य गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको अध्यक्षता गोपाल सेवा समितिका क्षेत्रीय अध्यक्ष नगेन्द्र यादवले गरेका थिए। कार्यक्रममा मनोज यादव, कृष्णमोहन यादव, रामनारायण यादव, पुरन यादव लगायतको उपस्थिति रहेको थियो। आगामी मंसिर महिनाको अन्तिम शनिबार सखुवा प्रसौनीमा गोपाल सेवा समितिको दोस्रो बैठक बस्ने निर्णय समेत भएको जानकारी सञ्चारकर्मी प्रमोद यादवले दिए।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update