बाराको महागढीमाई नगरपालिका १, बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला विधिवत् रूपमा सुरु भएको छ ।
ठूलो दसैँको घटस्थापनाको दिन मन्दिरमा पूजा भएसँगै मेलाको आरम्भ भएको हो । मेला सुरु हुनु केही दिन अघि बाजा गाजा, हात्ती(घोडा, ऊँट र विभिन्न झाँकीसहित हजारौँ भक्तजनको सहभागितामा शोभा यात्रा निकालिएको थियो ।
मङ्सिर १७ देखि ३० गतेसम्म सञ्चालन हुने यो मेलामा नेपाल र भारतसहित लाखौँ श्रद्धालुहरू सहभागी हुने अपेक्षा गरिएको छ । मेला व्यवस्थापन समितिले विशेष गरी भारतबाट ठूलो सङ्ख्यामा गढीमाई माता प्रतिको आस्था राख्ने भक्तजनहरू आउने विश्वास व्यक्त गरेको छ ।
गढीमाई मन्दिरको धार्मिक महत्त्व इतिहास किम्बदन्तीमा आधारित छ । यसका अनुसार, हजारौँ वर्षअघि मकवानपुर गढीकी तुलजा भवानी अर्थात् गढीमाईले भगवान् दास चौधरीलाई सपनामा दर्शन दिएर जेलमुक्त गराएको किंवदन्ती रहेको छ । त्यही बेला चौधरीले देवीको आदेशअनुसार बरियारपुरमा त्रिशूल गाडेका थिए, जसपछि गढीमाई मन्दिरको स्थापना भएको बताइन्छ । हाल १०औँ पुस्ताका शिव चौधरी मन्दिरका मूल पुजारीका रूपमा रहेका छन् ।
विशेष पूजा र बलि परम्परा
गढीमाई मन्दिरमा मङ्सिर शुक्ल पक्ष सप्तमीको दिन तान्त्रिक विधिबाट विशेष पूजा गरी पञ्चबलि चढाउने परम्परा रहेको छ । मङ्सिर २३ देखि २५ गतेसम्म विशेष पूजामा सहभागिता जनाउनका लागि ५०० रुपैयाँ सहयोग राशि तोकिएको छ । यस वर्षको मेला मङ्सिर ३० गते आइतबार विसर्जनसँगै सम्पन्न हुनेछ ।
गढीमाई मेलामा पशु बलि दिने परम्परालाई तान्त्रिक विधिको हिस्सा मानिन्छ। विशेष गरी राँगाको बलि दिइन्छ भने मुसा, परेवा, बोका, राँगा र खरायोलाई पञ्चबलि चढाउने प्रचलन रहेको छ । बलि दिने विधि तान्त्रिक धामीको शरीरको पाँच स्थानबाट रगत निकालेर सुरु गरिन्छ ।
विशाल मेला क्षेत्र र व्यवस्थापन
यस वर्ष मेला समितिले एक हजार बिघा क्षेत्रफलमा मेलाको आयोजना गरेको छ । सो क्षेत्रमा विभिन्न स्टलहरू, मनोरञ्जन साधनहरू, पार्किङ सुविधा र सातै प्रदेशका कृषिजन्य वस्तुहरू राख्ने तयारी गरिएको छ । भक्तजनहरूको सुरक्षाका लागि हरेक चोकमा प्रहरी र अन्य सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
यो मेला नेपालका लागि मात्र नभएर सार्क राष्ट्रका श्रद्धालुहरूका लागि पनि विशेष आकर्षणको केन्द्र बनेको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवका अनुसार, मन्दिरका मूल पुजारी चौधरी समुदायबाट नै रहने प्रचलन स्थापना कालदेखि रहिआएको हो ।
विशेष पूजा, बलि र मनोरञ्जनका साधनहरूले यस पटकको मेला अझ आकर्षक बनाउने विश्वास गरिएको छ ।