Birgunj News24

प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर क्षेत्रबाट बिलबिजकमा उल्लेख गरिएभन्दा बढी मूल्यका खुद्रा सामान र औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिएसपी दीपक भारतीका अनुसार नियन्त्रणमा लिएका ट्रकहरू सुदूरपश्चिम प्रदेशका नम्बर प्लेट भएका छन् । तीमध्ये सुदूरपश्चिम ०१–००१ ख २६९९ र ०१–००१ ख २६६१ नम्बरका ट्रकहरूमा सामान भरिएको थियो ।

प्रहरीले ट्रकहरूमा बोकेको सामग्रीको मूल्य १ करोड ८६ लाख रुपैयाँ रहेको प्रारम्भिक अनुमान गरेको छ । सामानको बिलबिजकमा कम मूल्य उल्लेख गरेर राजस्व छलीको आशङ्का भएकाले ट्रकहरू नियन्त्रणमा लिइएको डिएसपी भारतीले जानकारी दिए ।
उनका अनुसार थप अनुसन्धानका लागि यी ट्रकहरू राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको छ ।
यसअघि पनि प्रहरीले कात्तिक ७ गते वीरगञ्जको घण्टाघर क्षेत्रबाट १ करोड १४ लाख रुपैयाँ बराबरको लत्ताकपडा र औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । त्यो समय पनि ना ३ ख ५१८७ नम्बरको ट्रकलाई बिलबिजकबिना सामग्री बोक्ने प्रयासमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले पछिल्ला दिनहरूमा सीमावर्ती क्षेत्रहरूमा राजस्व छलीको प्रयासमा भइरहेको गतिविधिमाथि कडाइ गरेको बताएको छ । वीरगञ्ज नाकाबाट भित्रिने र बाहिरिने ट्रकहरूको नियमित अनुगमनलाई थप कडा पारिएको जानकारी प्रहरीले दिएको छ

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update