विदेशबाट आयात गर्न लागिएको गुलाबको सुगन्ध ल्याउन प्रयोग हुने रोज वाटरमा गुणस्तर सम्बन्धी समस्या देखिएपछि वीरगञ्ज भन्सार नाकाबाट प्रवेश अनुमति अस्वीकृत गरिएको छ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, वीरगञ्जले उक्त रोज वाटरको नमूनामा बाह्य पदार्थको उपस्थिति पाईएपछि प्रवेश अस्वीकृत गरेको हो।
कार्यालयका प्रमुख बिमल दाहालका अनुसार परीक्षणका क्रममा आँखाले देख्न सकिने बाह्य पदार्थ देखिएपछि रोज वाटरको आयात अस्वीकार गरिएको छ। “अस्वीकृत रोज वाटरको नमूना सम्बन्धित भन्सार कार्यालयलाई प्रतिवेदनसहित पठाइएको छ,” दाहालले बताए।
काठमाण्डौंस्थित कि फुड्स इन्टरनेशनल प्रा. लि.ले दुबईबाट ल्याउन लागेको उक्त रोज वाटर सिरसिया नाका हुँदै आयात गर्ने तयारीमा थियो। दशैं–तिहारजस्ता चाडपर्व नजिकिएसँगै मिठाईको व्यापार बढ्नेसँगै मिठाईमा गुलाबको सुगन्ध थप्न रोज वाटरको प्रयोग हुने गरेको छ।