वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ का स्वास्थ्य चौकीहरूले औषधिको आपूर्तिमा समस्या भइरहेको जानकारी गराएका छन् । वडा नम्बर ३१ का वडाध्यक्ष जीतेन्द्र यादवका अनुसार महानगरले पर्याप्त औषधि उपलब्ध नगराउँदा स्वास्थ्य चौकीमा आउने बिरामीहरूले आवश्यक औषधि नपाउने समस्या उत्पन्न भएको छ ।
वडा नम्बर ३२ का वडाध्यक्ष रेयाज अन्सारीले पनि आफ्नो वडामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव रहेको बताए । त्यस्तै, बहुदरमाई नगरपालिकाका स्वास्थ्य चौकीहरूमा पनि औषधिको कमी देखिएको छ । नगरपालिकाको बजेट अस्वीकृत रहँदा औषधि खरीद प्रक्रिया प्रभावित भएको लेखापाल हरि पटेलले बताए । कात्तिक ८ गते नगर सभा सम्पन्न भए पनि खाता सञ्चालनको ढिलाइले औषधि वितरणमा समस्या परेको उनको भनाइ छ ।
औषधि अभावको कारणले सेवाग्राहीले स्वास्थ्य सेवामा मर्का बेहोर्नुपरेको छ । सरकारले सयभन्दा बढी थरीका औषधिहरू निःशुल्क उपलब्ध गराउने नीति बनाएको भए पनि पालिकाहरूले समयमै नगर सभा र बजेट व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको देखिएको छ ।
पर्सागढी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा भने औषधि अभाव नरहेको अहेब श्वेता श्रेष्ठले बताइन् । उनका अनुसार, स्वास्थ्य चौकीहरूमा पर्याप्त मात्रामा औषधि उपलब्ध गराइँदै आएको छ ।