Birgunj News24
तिहार आजदेखि विधिवत् रुपमा आरम्भ

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलिदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीका १८ गते आइतबार बिहान ११ः३७ बजे साइत शुभ रहेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले निर्णय गरेको बताए।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update