रौतहटको फतुवाबिजयपुर नगरपालिका–११, बटुवा निवासी एक वृद्धाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीया पातली माया घिसिङको हात्तीको आक्रमणमा ज्यान गएको हो।
घिसिङ र उनका श्रीमान् बुद्धिमान दोङ जङ्गल क्षेत्रमा एकान्तवास गरिरहेका थिए। घटना बिहानको समयमा भएको हो। प्रहरीका अनुसार हात्तीले घर भत्काउन थालेपछि दुवै जना भाग्न खोज्दा घिसिङलाई घरभन्दा लगभग २० मिटर टाढा हात्तीले आक्रमण गरि मारेको थियो। उनका श्रीमान् दोङ भने भागेर ज्यान बचाउन सफल भए।
ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक इन्द्रमान अधिकारीका अनुसार घिसिङको शवलाई पोस्टमार्टम गरी परिवारजनलाई बुझाउने तयारी भइरहेको छ। केही दिनदेखि रौतहटको उत्तरी क्षेत्रका विभिन्न स्थानमा जङ्गली हात्तीले बाली नष्ट गर्दै किसानहरूलाई समेत समस्या सिर्जना गरिरहेको छ।
स्थानीयले जङ्गली हात्तीको बढ्दो आक्रमण रोक्न सम्बन्धित निकायसँग उचित व्यवस्थापनको माग गरेका छन्।