वीरगञ्ज । यमपञ्चक अर्थात तिहारको पाँचौं दिन भाईटिका संगै मधेसी समुदायमा दिदी–बहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै परम्परागत भईया दूज पर्व मनाइरहेका छन्। भाई टीकाजस्तै, भईया दूज पनि दिदी–बहिनी र दाजुभाइबीचको प्रेम र स्नेहको प्रतीक पर्व मानिन्छ। गोवर्धन पूजाको भोलिपल्ट यो पर्व मनाउने प्रचलन रहेको छ।
मधेसी समुदायका दिदी–बहिनीहरू बिहानै विशेष पूजाआजासहित भगवान् गोवर्धनको पूजा गर्दै दाजुभाइको लामो आयु र सुखी जीवनको कामना गर्छन्। यस अवसरमा उनीहरूले भगवान् गोवर्धनसमक्ष श्राप दिएर आफ्ना दाजुभाइलाई सम्पूर्ण दुःख र कष्टबाट मुक्त गराउन प्रार्थना गर्छन्। यसरी श्राप दिएर पुनः श्राप मुक्त गराउँदा भाइहरूको जीवनमा सकारात्मक उन्नति र सुस्वास्थ्य आउने विश्वास गरिन्छ।
आजको दिनमा मधेसी समुदायका महिलाहरू समूहमा भेला भएर गोवर्धन पूजासँगै परम्परागत गीत पनि गाउने चलन छ। यस दिन दिदी–बहिनीहरूले रेंगनीको काँडाले आफ्नै जिब्रो घोचेर आफ्ना दाजुभाइलाई श्राप दिएर पुनः मुक्त गराउँछन्। यो धार्मिक परम्परा प्राचीनकालदेखि पालन गरिंदै आएको हो। गोवर्धन पूजापछि हिन्दू धर्ममा विवाह तथा अन्य मांगलिक कार्यको शुभारम्भ समेत गरिन्छ।
भाईया दूज पर्वको एउटा विशेष पक्ष भनेको दिदी–बहिनीहरूले दाजुभाइलाई केराउको दाना र मिठाई ‘बजडी’ को रूपमा खुवाएर उनीहरूको जीवन बलियो, सारो र स्वस्थ रहोस् भन्ने कामना गर्नु हो। बजडी खुवाएपछि दाजुभाइहरूले पनि आफ्ना गच्छेअनुसार उपहार दिएर दिदी–बहिनीको सम्मान प्रकट गर्छन्।
प्रेम, स्नेह, र समर्पणको पर्व ‘भाईया दूज’ मधेसी समुदायमा हर्षोल्लासका साथ मनाइँदैछ।