Birgunj News24
अमेरिकामा राष्ट्रपति पदका लागि भइरहेको मतदान अन्तिम चरणमा, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपतिको चुनावमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ । इन्डियाना,  साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र जर्जिया लगायतका मुख्य राज्यमा मतदान बन्द भइसकेको बीबीसीले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति पदका लागि भर्मन्ट राज्यबाट शुरू भएको मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ । चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकामा २३ करोड १० लाख व्यक्ति मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेको तथ्याङ्क छ । चुनावको मुख्य दिनअघि नै आठ करोड १३ लाखभन्दा धेरै मतदाताले अग्रिम मत खसालिसकेका छन् । धेरैजसो राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ ।

सन् २०२० मा १० करोड १० लाख अग्रिम मतदान भएको थियो । अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित छ । पाँच सय ३८ इलेक्टोरल कलेजमध्ये दुई सय ७० मत ल्याउनेले जीत हासिल गर्न सक्नेछन् ।

सर्वेक्षणहरूले ट्रम्पभन्दा ह्यारिस केही अघि रहेको देखाएको छ । तर यो चुनाव इतिहासकै कडा प्रतिस्पर्धा रहेको बीबीसीले आफ्नो लेखमा उल्लेख गरेको छ ।

यो चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै चार सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update