काठमाडौँ — गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे ९राजीव गुरुङ० मंगलबार डिल्लीबजार कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगअन्तर्गतको कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएको एक सातामै उनलाई पक्राउ गरेर कारागार पठाइएको हो ।
गुन्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी प्रहरी प्रहार गरी घाइते बनाएको २० वर्षअघिको घटनामा मनाङेलाई सर्वोच्चले गत कात्तिक २० मा दोषी ठहर गर्दै ५ वर्ष कैद हुने गरी फैसला गरेको थियो ।
मंगलबार बिहान काठमाडौंको सीतापाइलास्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको थियो । ‘पक्राउपछि मनाङेलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो,’ सीआईबी प्रमुख एआईजी दीपक थापाले भने, ‘अदालतको आदेशपछि सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।’ मनाङेलाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ ।
मनाङले चक्रे मिलनमाथि काठमाडौंको महारागन्जमा २०६१ वैशाख ३१ मा खुकुरी प्रहार गरेका थिए । त्यति बेला चक्रे मिलनको देब्रे हात छिनालिएको थियो । घटनाको मुचुल्का भने प्रहरीले २०६१ जेठ ६ मात्रै उठाएको थियो । घाइते चक्रे मिलनका तर्फबाट घटनाको १२ दिनपछि हुलाकमार्फत जाहेरी परेको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएकामा २०६३ माघ ७ मा उक्त घटनालाई कुटपिटका रूपमा व्याख्या गरेर २ वर्ष कैद सजाय सुनाइएको थियो । फैसलाबमोजिम २ वर्ष कैद भुक्तान गरेर मनाङे २०६३ चैत १८ मा छुटेका थिए ।
जिल्लाको फैसला त्रुटिपूर्ण भन्दै सरकारी वकिल कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्यो । पाटन अदालतले २०६९ साउन २८ मा जिल्लाको फैसला उल्ट्याउँदै मनाङेलाई ज्यान मार्ने उद्योगमै दोषी ठहर गरी ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । त्यसपछि उनी प्रहरीको फरार सूचीमा थिए । फरार रहेकै अवस्थामा २०७४ को निर्वाचनमा उनी मनाङ १ (२्)० बाट प्रदेशसभा सदस्यमा विजयी भए । फरार व्यक्तिले चुनाव जितेको प्रसंग सतहमा आएपछि उनी २०७५ वैशाख १४ मा पक्राउ परे ।
मनाङेले तत्कालीन पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिए । पाटनबाट भएको फैसलाबारे आफूलाई थाहा नभएको जिकिरसहित उनले आफ्नो पक्राउ गैरकानुनी भन्दै निवेदन पनि दिएका थिए । त्यसपछि उनी सर्वोच्चकै आदेशले धरौटीमा छुटे । यही बीचमा उनी दोहोर्याएर प्रदेश सांसद भए भने ६ पटक मन्त्री बने ।
सर्वोच्चमा लामो समयदेखि विचाराधीन रहेको मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालतबाट भएको फैसलालाई गत साता सदर गर्यो । दुई पटकमा गरेर उनी ३२ महिना जेल बसिसकेका थिए । ५६ वर्षीय मनाङेले अब २८ महिना कैद सजाय भुक्तान गर्नुपर्नेछ । उनको चालचलन हेरेर कारागारले निर्णय गरे वा बाँकी सजाय मिनाहाका लागि निवेदन दिए सजाय अवधि कम हुन सक्छ ।
मनाङेको प्रदेश सांसद पद के हुने भन्ने विषय भने सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि मात्रै टुंगो लाग्नेछ ।