नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगञ्जको नारायणी क्रिकेट मैदानमा अति आवश्यक डिप बोरिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
पानीको व्यवस्थापन नहुँदा खेलाडीहरूलाई नियमित अभ्यास र प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएकोमा यो परियोजनाले दीर्घकालीन समाधान प्रदान गर्ने विश्वास लिइएको छ ।
नारायणी क्रिकेट मैदानमा पानीको अभावले खेलाडीहरूलाई पीउने पानी, मैदान सिँचाइ, र अन्य व्यवस्थापनमा गम्भीर कठिनाइ झेल्नुपर्ने अवस्था थियो । अब डिप बोरिङको जडानले मैदानमा आवश्यक पानीको आपूर्ति सुनिश्चित गरेको छ ।
डिप बोरिङ जडान पश्चात् मन्त्री यादवले खेलकुद विकास र स्थानीय युवाको प्रोत्साहन आफ्नो प्राथमिकता भएको बताए । “नारायणी क्रिकेट मैदानमा डिप बोरिङको सफलताले खेलाडीहरूको समस्या समाधान गर्न सहयोग पुगेको छ । अब खेलाडीहरूले खेलमा मात्र ध्यान केन्द्रित गर्न सक्नेछन् । भविष्यमा थप पूर्वाधार विकास गर्दै मैदानको व्यवस्थापनलाई अझै प्रभावकारी बनाइनेछ,“मन्त्री यादवले भने ।
मन्त्री यादवले मैदानमा पानी वितरणका लागि थप पाइपलाइन र भण्डारण संरचना निर्माण जस्ता आवश्यक कामहरू अघि बढाइने जानकारी पनि दिए । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले डिप बोरिङ जडान कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भने, “डिप बोरिङले मैदानको पानी समस्या दीर्घकालीन रूपमा समाधान गरिदिएको छ । यसले खेलाडीहरूको अभ्यासलाई सहज बनाउनुका साथै आगामी प्रतियोगिता सञ्चालनलाई सरल बनाउनेछ । यो कदम स्थानीय खेलकुद विकासका लागि महत्त्वपूर्ण उदाहरण बनेको छ ।