दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन, सन् २०२१ मा रिलिज भएको आफ्नो चर्चित फिल्म ‘पुष्पा’को दोस्रो भाग ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक गर्न आइतबार नेपाल–भारत सीमाको बिहार राज्यमा पुगेका छन् ।
पटनाको गान्धी मैदानमा एक भव्य मञ्चमा आयोजित ट्रेलर लन्च कार्यक्रमलाई भारतीय सञ्चारमाध्यमले अहिलेसम्मकै सबैभन्दा ठूलो ट्रेलर रिलिज समारोहको रूपमा प्रस्तुत गरेका छन् ।विशेष कुरा के हो भने, भारतीय फिल्मको ट्रेलर लन्च प्रायः दिल्ली, मुम्बई, चेन्नइ वा बैंगलोर जस्ता ठूला सहरहरूमा हुने गर्दछ, तर ‘पुष्पा २’ को ट्रेलर लन्च कार्यक्रम बिहारको पटनामा आयोजना गरिएको छ । यस निर्णयको पछाडि फिल्मको लोकप्रियता र व्यावसायिक रणनीतिको भूमिका रहेको छ ।
‘पुष्पा’को पहिलो भागको सफलतापछि अल्लु अर्जुनलाई ‘पान(इन्डिया’ स्टारको रूपमा परिचित गराइएको थियो । तेलुगु फिल्म उद्योगभन्दा बाहिर रहेका भारतीय राज्यहरूमा यो फिल्मको सफलता विशेष गरी बिहारमा निकै ठूलो रह्यो । बिहारी दर्शकहरूले फिल्मका मुख्य पात्र पुष्पा राजको जीवनशैली, बोलचाल र हाउभाउलाई निकै रुचाएका छन् । फिल्मको सङ्गीत, विशेष गरी ‘श्रीवल्ली’ गीत, निकै लोकप्रिय भएको थियो, र यो गीतको भोजपुरी संस्करणले सामाजिक मिडियामा भाइरल बनाएको थियो ।
बिहारको सिने प्रेमी समुदायमा पुष्पा फिल्मको सफलता र अल्लु अर्जुनको प्रभावलाई ध्यानमा राख्दै, निर्माता र अभिनेता अल्लु अर्जुनले पटनामा ट्रेलर लन्च गरेर बिहारका फ्यानप्रति कृतज्ञता व्यक्त गर्ने निर्णय गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित यस भव्य समारोहमा भोजपुरी स्टार अक्षरा सिंहको विशेष प्रस्तुति पनि रहनेछ ।
यसो गर्दा, केवल भावनात्मक पक्ष मात्र होइन, यस कार्यक्रमको व्यावसायिक दृष्टिकोण पनि महत्त्वपूर्ण छ । यसले न केवल उत्तर भारतीय दर्शक वर्गलाई आकर्षित गर्नेछ, तर टिकट बिक्रीमा पनि सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ ।
‘पुष्पा २’ मा अल्लु अर्जुनको साथमा रश्मिका मन्दाना र फहद फासिलले पनि अभिनय गरेका छन् । कार्यक्रम नेपाली समय अनुसार बेलुका ६स्१५ बजे सुरु हुनेछ ।