Birgunj News24
वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चार लाख जरिवाना असुल

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ६१ सवारीसाधनलाई कारबाही गर्दै पाँच दिनमा चार लाख पाँच हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

पर्सा ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक  लोकराज भट्टका अनुसार, मङ्सिर १ देखि ५ गतेसम्म वीरगञ्जको रजतजयन्ती चोकदेखि गण्डक चोकसम्मको बाइपास र ४० फिटे इनर बाइपास सडक किनारमा अनधिकृत रूपमा सवारीसाधन पार्किङ गर्ने विरुद्ध विशेष अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा दैनिक ३० भन्दा बढी सवारीसाधनलाई ह्वील लक गरिएको छ । प्रहरीले २०८ वटा ट्रक र ट्याङ्करबाट दुई लाख ३७ हजार रुपैयाँ,
३५ वटा कार, जिप र भ्यानबाट २६ हजार रुपैयाँ,१७ वटा ट्याम्पबाट १५ हजार रुपैयाँ,७ वटा बस र मिनी बसबाट ६ हजार ५ सय रुपैयाँ,११ वटा ट्याक्टरबाट ९ हजार ५ सय रुपैयाँ,१८३ वटा मोटरसाइकलबाट एक लाख १० हजार ५ सय रुपैयाँ जरिवाना संकल्न गरेको छ । महानगरका विभिन्न स्थानमा अनधिकृत पार्किङ र ट्राफिक नियम उल्लङ्घनका घटना दोहोरिइरहेका छन् । भन्सार क्षेत्रदेखि मितेरी पुलसम्म भारतीय सवारीसाधनहरूको अनधिकृत पार्किङ अझै रोक्न नसकिएको स्थानीयहरूले बताएका छन् ।
विशेष गरी, भारतीय नम्बर प्लेट भएका चार चक्के सवारीसाधन भन्सार क्षेत्रमा २४ सै घण्टा पार्किङ भइरहेका छन् । स्थानीयका अनुसार, केही नेपाली नागरिकहरूले भारतीय सवारीसाधन खरिद गरी भन्सार राजस्व छली गरिरहेका छन् । यस क्षेत्रको अनधिकृत पार्किङ व्यवस्थापनमा सशस्त्र प्रहरी र जनपद प्रहरीको मिलेमतो रहेको आरोपसमेत लगाइएको छ ।
ट्राफिक नियम उल्लङ्घन र सवारी दुर्घटनामा कमी ल्याउन पर्सा ट्राफिक कार्यालयले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । इन्स्पेक्टर भट्टले चालकहरूलाई जिम्मेवार बनाउन ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।
भन्सार क्षेत्रमा देखिएका समस्या समाधान गर्न स्थानीय प्रशासन र प्रहरी निकायको सहकार्यमा थप प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update