Birgunj News24
विवाहपञ्चमीका जनकपुरधाममा तीव्र तयारी

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तीव्र पारिएको छ । यहि मंसिर २१ गते जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमीको तयारी तीव्र पारिएको हो ।

रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसार लगायतका कार्यहरु धमाधम भइरहेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनलाई कुनै प्रकारको असुविधा हुन नदिने व्यवस्थापनले जनाएको छ ।
स्वयंवर, वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधिमा सहभागी हुन लाखौँको सङ्ख्यामा भक्तजनहरु जनकपुरधाममा जाने भएकोले त्यसको तयारी भव्य पारिएको छ । यस्तै श्रद्धालुभक्तजन तथा साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको जनाइएको छ ।

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा विभिन्न पाँच ठाउँबाट ‘डिस्पले’का माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँठाउँमा प्राथमिक उपचारसहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका सिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी एवं सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि शय्या व्यवस्था तथा ट्रमासेन्टर सञ्चालन गरिने भएको छ ।

औषधिसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षभन्दा बढी सङ्ख्यामा सफाइकर्मीसहित शौचालय व्यवस्थापन गर्ने, सडक बत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्नेलगायत अन्य कार्यको तयारी भइरहेको जनाइएको छ । महोत्सव तयारी गर्ने कार्यको बाँडफाँट सकिएको छ ।

विवाहपञ्चमी महोत्सव वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटोमा भीड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइलगायत कार्यमा बढी जोड दिइने बताइएको छ ।
महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सङ्ख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन् ।

वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने पाँच सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update