काठमाडौ ,११ मंसिर ।
नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतामा आधारित प्रगतिलाई सन्तोषजनक बताउँदै, शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, र विपद् व्यवस्थापनमा अझ क्रियाशील हुन निर्देशन दिनुभयो। उहाँले पेन्डिङ मुद्दा फछर्यौट र फरार प्रतिवादीलाई पक्राउ गरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न विभाग र कार्यालयका प्रतिनिधिहरूले कार्यसम्पादन सम्झौतासम्बन्धी प्रगति विवरण प्रस्तुत गरे। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, र अन्य अधिकारीहरूको भौतिक तथा भर्चुअल उपस्थिति थियो। सभार :- जनसूचना न्युज