Birgunj News24
बङ्गलादेशमा हिन्दु गुरु पक्राउ पछि देशभरि प्रदर्शन, कयौँ घाइते

बङ्गलादेश इस्कनसँग सम्बद्ध चिन्मय कृष्ण दास ब्रह्मचारीको रिहाइको माग गर्दै देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ढाका, चटगाउँ र दिनाजपुरका विभिन्न सडक अवरुद्ध गर्दै नाराबाजी गरेका छन् ।

चिन्मय कृष्ण दासविरुद्ध देशद्रोह र साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा मुद्दा चलिरहेको छ । सोमबार उनलाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

ढाकाको शाहबाग क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीमाथि लाठी प्रहार भएको छ । यस आक्रमणमा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनास्थल शाहबाग प्रहरी चौकीबाट केवल ३० मिटर टाढा भए पनि प्रहरीको कुनै सक्रियता देखिएन ।

चिन्मय कृष्ण दासलाई प्रहरीले पक्राउ पुर्जीबिना नै पक्राउ गरेको आरोप इस्कॉनका सदस्यहरूले लगाएका छन् । उनीहरूको भनाइमा, प्रहरीले उनलाई सोधपुछ गर्ने बहानामा नियन्त्रणमा लिएको हो ।

ढाका महानगरीय प्रहरीको गुप्तचर शाखा ९डिबी० का अतिरिक्त आयुक्त रेजउल करीम मल्लिकका अनुसार, चिन्मय कृष्ण दासलाई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित प्रहरी चौकीमा पठाइनेछ । प्रहरीले उनीमाथि लागेको आरोपको गहन अनुसन्धान गर्ने बताएको छ ।

यस घटनाले बङ्गलादेशमा धार्मिक सहिष्णुताका विषयमा नयाँ प्रश्न खडा गरेको छ । प्रदर्शनकारीहरूले भने चिन्मय कृष्ण दासको शीघ्र रिहाइको माग गर्दै आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update