काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका–७ आदमटार घर भइ काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ कपन बस्ने ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन् ।
पक्राउ परेकामध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र कार्त्तिकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौं काँडाघारीबाट र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार तथा कार्त्तिकलाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।