
औषधी पसलमा अनिवार्य परिचय र पोशाक लागू हुने
नेपाल फार्मेसी परिषदले पुस ४ गतेदेखि लागू हुने गरी औषधी पसल फर्मासिष्ट र फार्मेसी सहायकका लागि अनिवार्य पोशाकको व्यवस्था गर्न लागेको छ। यो निर्णय कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसी क्षेत्रमा देखिएको अव्यवस्थित अवस्थालाई सुधार गर्न परिषदलाई आवश्यक कदम चाल्न निर्देशन दिएका थिए। यसै अनुरूप परिषदले फार्मेसिष्टहरूको पहिचान सुनिश्चित गर्न पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो।
पोशाक र परिचय अनिवार्य
परिषदले फार्मेसिष्टहरूका लागि सेतो एप्रोन र परिचयपत्र अनिवार्य गरेको छ। औषधि वितरणमा संलग्न फर्मासिष्टहरूले हरियो पृष्ठभूमिमा सेतो अक्षरमा नाम, पद, र परिषद दर्ता नम्बर लेखिएको परिचयपत्र लगाउनुपर्नेछ। त्यस्तै, फार्मेसी सहायकहरूले निलो पृष्ठभूमिमा सेतो अक्षरको परिचयपत्र अनिवार्य गर्नुपर्नेछ।
व्यवस्थापन र अनुगमनका लागि कदम
परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले यो निर्णयले औषधि वितरणमा आधिकारिक व्यक्तिहरू मात्र संलग्न हुने सुनिश्चित गर्ने बताए। “कुनै कैफियत देखिएमा तत्काल कारबाही गर्न यो व्यवस्थाले सहयोग पुर्याउनेछ,” उनले भने।
मन्त्री पौडेलले पनि व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई कडा बनाउन निर्देशन दिएका छन्। औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराउँदै उनले औषधिको मूल्यसम्बन्धी समायोजनका लागि गठित समितिको कामलाई पनि तीव्रता दिन आग्रह गरे।
मन्त्रालयको थप पहल
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले परिषदको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले पत्राचार गर्ने जानकारी दिए। “औषधि बिक्री वितरणमा कुनै पनि बेथिति देखिएमा दोषीमाथि कारबाही अघि बढाइनेछ,” उनले बताए।
मूल्य समायोजनमा समिति सक्रिय
औषधिको मूल्यसम्बन्धी समस्या समाधान गर्न मन्त्रालयले विशेष समिति गठन गरेको छ। यो समितिले नागरिकलाई न्यूनतम भार पर्ने गरी औषधिको मूल्य समायोजनको तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।
फार्मेसीलाई व्यवस्थित बनाउने यो निर्णयले औषधि बिक्री वितरणमा अनुशासन कायम गर्ने र सेवाग्राहीलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ।