
प्रहरी सीमा सुरक्षा गुल्म प्र.सी.सु. वीरगञ्जबाट खटिएको टोलीले जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट तथा आसपासका विभिन्न स्थानहरूबाट भारतबाट अबैध रूपमा भन्सार छलि ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ।
टोलीले सार्वजनिक सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेका किराना सामान, मोटर पार्ट्स, कपडा, कस्मेटिक सामग्री, चप्पल, र सामान्य औषधि लगायतका सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामानहरूको भन्सार मूल्य १५ लाख ७७ हजार १ सय ७५ रुपैयाँ रहेको बताइएको छ।
यसैगरी, आ सोही स्थानबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालबाट भारततर्फ अबैध रूपमा लैजाने तयारीमा रहेको २६ हजार ४ सय रुपैयाँ मूल्यको मदिरा समेत बरामद गरिएको छ। बरामद मोटरसाइकलको भन्सार मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको र सामानसहित जम्मा १७ लाख ५३ हजार ५ सय ७५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।
प्रहरीले बरामद सबै सामग्री र मोटरसाइकल आवश्यक कारवाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। अवैध भन्सार छलिको विरुद्ध प्रहरीले आफ्नो निगरानी थप कडा बनाएको छ।