
जनकपुरधाम। सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन जनकपुरधाममा मदिरा र मांस बिक्री तथा वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्मका लागि यो प्रतिबन्ध लागू हुने उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले जारी गरेको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी मारकाट, माछा(मांस उत्पादन तथा सेवन निषेध गरिएको छ। साथै, अन्य नसालु पदार्थको सेवनमा पनि पूर्ण रूपमा रोक लगाइएको छ।
सूचनामा तोकिएको निषेधित क्षेत्रमा नियम उल्लङ्घन गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ।
धार्मिक पर्वको सम्मानमा प्रतिबन्ध
त्रेतायुगमा भगवान श्रीराम र माता सीताको विवाह मंसिर शुक्ल पञ्चमीको तिथिमा भएको स्मरणमा मिथिलामा यो पर्व सांस्कृतिक, धार्मिक, र पौराणिक महत्त्वका साथ मनाइन्छ। जनकपुरधाममा यस पर्वको अवसरमा नेपाल र भारतका लाखौँ श्रद्धालुहरूको सहभागिता हुने गर्दछ।