Birgunj News24
वीरगंज बैंकर्स लिग क्रिकेट प्रतियोगिता सुरु

वीरगंज २४ रामगढवामा रहेको ज्ञानदा एकेडेमीको खेल मैदानमा वीरगञ्ज बैंकर्स लिग क्रिकेट प्रतियोगिता एक भव्य समारोहबीच सुरु भएको छ। नेशनल स्पोर्ट्स एकेडेमीको आयोजनामा र ज्ञानदा एकेडेमीको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन समारोह ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुल्स्यानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले प्रतियोगिताको महत्वमाथि प्रकाश पारे। ज्ञानदा एकेडेमीका सि.इ.ओ. राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए।कार्यक्रममा वीरगञ्ज बैंक ग्रुपका अध्यक्ष रोहिनी आचार्य, ज्ञानदा एकेडेमीका विनीत लोहिया, र अन्य अतिथिहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।

प्रतियोगितामा वीरगञ्जका विभिन्न १३ वटा बैंकले सहभागिता जनाएका छन्। उद्घाटन दिनको खेलमा सिद्धार्थ बैंक र एनएमबी बैंकबीच प्रतिस्पर्धा हुनेछ भने अन्य खेलहरूमा प्रभु बैंक र एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंक, सिटीजन बैंक र प्राइम बैंक आमनेसामने हुनेछन्।

रात्रिकालीन समयमा सञ्चालन हुने यो प्रतियोगिता साँझ ७ बजेदेखि सुरु हुनेछ। उद्घाटन समारोहको सहजीकरण रामप्रसाद पाण्डेले गरेका थिए। कार्यक्रममा विभिन्न बैंकका कर्मचारी खेलाडी, ज्ञानदा एकेडेमी तथा नेशनल स्पोर्ट्स एकेडेमीका पदाधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update