Birgunj News24
वीरगञ्ज भन्सार कार्यालयले अब बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा प्रदान दिने

वीरगञ्जका दुवै भन्सार कार्यालयले आफ्नो कार्य समय दुई घण्टा थप गरेका छन् । भन्सार कार्यालयहरू अब बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा प्रदान गर्ने भएका छन् । यसअघि कार्यालयहरू बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा रहन्थे ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले भन्सार समय विस्तारको निर्णय गरेको हो । निर्णयसँगै वीरगञ्ज भन्सार नजिकै रहेको गेट बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुल्ने जनाइएको छ ।

नयाँ नियम लागू भएसँगै नागरिकहरूको आवतजावत सहज हुने विश्वास लिइएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार विस्तारित समयावधिमा बैंक तथा अन्य सेवा पनि सुचारु रहनेछन् । उनले भने, “यो निर्णयले व्यापारी र यात्रु दुबैलाई सहजता दिनेछ ।”

भन्सार समय विस्तार गर्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको छ । सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सङ्घको निरन्तर प्रयासले सफलता पाएकोमा खुसी व्यक्त गर्दै भने, “भन्सार समय थपिँदा व्यापारिक गतिविधि सहज हुनेछ र सबैलाई फाइदा पुग्नेछ ।”

निर्णयको जानकारी भारतीय महावाणिज्य दूतावासमार्फत भारत सरकारलाई पनि गराइएको छ । यसले रक्सौलतर्फको भन्सार गेट पनि बिहानै खुल्न मद्दत पुग्ने र रेल समात्न जाने यात्रुहरूलाई थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्णयबाट स्थानीय व्यापारिक क्षेत्र र यात्रुहरूको समय बचत हुने र आर्थिक गतिविधि अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

निर्णयले स्थानीय व्यापारी, उद्योगी, र यात्रुहरूबिच उत्साह थपेको छ । अब व्यापारिक प्रक्रियाहरू द्रुत रूपमा सम्पन्न हुने र नागरिकहरूले सहज सेवा पाउने वातावरण सिर्जना भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update