Birgunj News24
नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतो सम्मानित

यु–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतोलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।

मङ्गलवार वीरगञ्ज  महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नै कार्यकक्षमा महतोलाई खादा ओढाएर नगद २५ हजार रुपैयाँ पनि प्रदान गर्दै सम्मानित गरेका हुन् । त्यस अवसरमा यु–१९ नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रवीणलाई पनि मेयर सिंहले सम्मानित गरे । वीरगञ्ज –१३ निवासी सानालाई यसअघि गत मङ्सिर ९ गते पनि मेयर सिंहले आफ्नै कार्यकक्षमा बोलाएर नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मानित गरेका थिए ।
गत मङ्सिरमा सम्पन्न यु–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्यान्डविरुद्धको खेलमा सानाले अर्धसत्तक प्रहार गर्दै कप्तान पूजा महतोसँग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् ।मङ्गलवारको सम्मान कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्फत मधेस र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै कप्तान महतो र सानाको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए ।

मधेसका छोरीहरूले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रका रूपमा दुवै जना बनेको भन्दै उनले आउँदा दिनमा अझै मेहनत गरेर मधेस र नेपालको नाम विश्वमा अझ धेरै चिनाउन दुवैलाई आग्रह पनि गरे ।

त्यस अवसरमा वीरगञ्ज  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध दुंगेल, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह,वीरगन्ज–४ का वडाध्यक्ष जगत् साह कानु लगायतकोपनि उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update