
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा पर्साको पोखरीया नगरपालिकामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । निर्णयले पर्सा जिल्लाका नागरिकहरूलाई सरकारी सेवा थप सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
निर्णयलाई लिएर श्रेयको चर्चा बढेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो विशेष पहल र सक्रियतामा निर्णय सम्भव बनेको दाबी गर्दै आएका छन् । त्यस्तै, पर्साका समानुपातिक सांसद प्रभु हजराले पनि आफ्नो सिफारिस र निरन्तर प्रयासले कार्यलाई मूर्त रूप दिइएको दाबी गरेका छन् ।
सांसद प्रभु हजराले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, “यो निर्णयले पर्सा जिल्लाको जनताका लागि ऐतिहासिक योगदान पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र समग्र सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो कदमले सम्पूर्ण पर्सेली जनतालाई हर्षित बनाएको छ,” भनी आफ्नो धारणा राखेका छन् ।
यसै गरी, मन्त्री राजकुमार गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमार्फत यो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गराइएको खुलासा गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, “यो निर्णयले पोखरीया नगरपालिकाका साथै ग्रामीण क्षेत्रका जनतालाई सरकारी सेवामा सहज पहुँच पुर्याउन सहयोग पुर्याउनेछ । समृद्धि र सेवा प्रवाहका लागि यो कदम ऐतिहासिक छ,” भनी उल्लेख गरेका छन् ।
यो निर्णयसँगै पर्सा जिल्लाका जनताले सरकारी सेवामा सहज पहुँच प्राप्त गर्नेमा उच्च आशा गरिएको छ।