
त्रिवेणी ग्रुप अन्तर्गतको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिले उत्पादन गर्ने ‘रानी’ ब्रान्डको सरसो तेल चिसोमा घ्युजस्तै जम्ने समस्या सार्वजनिक भएको छ । ‘कच्ची घानी सरसों तेल ग्रेड–१’ लेखिएको ब्याच नम्बर ०१ ९प्याकेट ०८१–०४० मा यस्तो समस्या देखिएको हो ।
जानकारहरूका अनुसार शुद्ध सरसो तेल जतिसुकै चिसोमा राखे पनि जम्दैन । तर, यो तेल चिसोमा जम्नुलाई जनावरको बोसो मिसावट भएको सङ्केत मानिएको छ । भारतको बरेलीबाट साबुन उत्पादनका लागि आयात गरिने जनावरको बोसो मिश्रित तेललाई खाना पकाउने तेलका रूपमा बिक्री गर्न खोज्दा यस्तो समस्या देखिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्राविधिकहरूले शुद्ध सरसो तेल कुनै पनि अवस्थामा नजम्ने दाबी गरेका छन् । तेल चिसोमा जमेको अवस्थामा त्यसलाई अखाद्य मानिन्छ । साथै, यस प्रकारको तेलले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने औँल्याइएको छ ।
प्राविधिकका अनुसार, जम्ने स्थानमा ट्रान्स फ्याट मिसावट हुन सक्छ । यस्तो ट्रान्स फ्याट जनावरको बोसो वा कृत्रिम रूपमा वनस्पति तेललाई हाइड्रोजिन मिसाएर उत्पादन गरिन्छ । यसले शरीरमा मन्द विषको असर पारी, धमनीलाई साँघुरो बनाउने र हृदयाघात तथा मस्तिष्क घातको सम्भावना बढाउने गर्छ ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभु दयाल कन्दोईले गल्ती भएको स्वीकार गर्दै उक्त ब्याचको तेल बजारबाट फिर्ता लिइएको बताएका छन् । उनले साउन महिनामा उत्पादन भएको एक लट तेलको गुणस्तर कमसल रहेको पुष्टि गर्दै डेढ–दुई सय कार्टुन फिर्ता लिएको दाबी गरेका छन् ।
यद्यपि, बजारमा अझै चिसोमा जम्ने तेल बिक्री भइरहेको पाइएको छ । कन्दोईले गल्तीलाई सामान्य रूपमा लिनुपर्ने बताउँदै खाद्य तथा गुण नियन्त्रक निकायलाई यसबारे जानकारी दिइसकेको बताएका छन् ।
उपभोक्ताहरूलाई चिसोमा जम्ने तेलको उपभोग नगर्न आग्रह गरिएको छ । खाद्य सुरक्षा विशेषज्ञहरूले गुणस्तरहीन तेल स्वास्थ्यका लागि गम्भीर खतरा हुन सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् ।
त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्सले भविष्यमा यस्ता त्रुटि नदोहोरिने सुनिश्चितता गर्नुपर्ने आवाज उठेको छ ।