Birgunj News24
एनपीएल विजेता जनकपुर बोल्ट्सले वीरगञ्जसहित मधेसका सबै जिल्लामा विजयोत्सव मनाउने

नेपाल प्रिमियर लिग एनपीएल० को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पर्साको वीरगञ्जसहित मधेस प्रदेशका जिल्लाहरूमा विजयोत्सव मनाउने तयारी गरेको छ ।

गत शनिवार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको जनकपुर बोल्ट्सले वीरगञ्जलगायत मधेसका आठ वटै जिल्लामा र्‍याली निकाल्ने योजना बनाएको छ ।

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक नीरज खतिवडाका अनुसार विजय उत्सव वीरगञ्जमा भव्य रूपमा मनाइनेछ । वीरगञ्जमा हुने र्‍याली कार्यक्रम पर्सा जिल्लाका क्रिकेट प्रेमीहरूका लागि विशेष हुनेछ । “वीरगञ्ज मधेस प्रदेशको प्रमुख व्यावसायिक केन्द्र भएकाले यहाँका समर्थकहरूको लागि विशेष कार्यक्रम तय गरेका छौँ,” खतिवडाले बताए ।
खतिवडाका अनुसार जनकपुरबाट सुरु हुने यो उत्सव महोत्तरी, सर्लाही, रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा पुग्नेछ । वीरगञ्जमा र्‍यालीको आयोजना गरी स्थानीय समर्थकहरूसँग विजयोत्सव साझा गरिनेछ । त्यसपछि सिराहा र सप्तरी पुगेर यो यात्रा समापनका लागि पुनः जनकपुर फर्किने योजना रहेको छ ।
जनकपुर बोल्ट्सका विदेशी खेलाडीहरू स्वदेश फर्किसकेका छन्, तर स्वदेशी खेलाडीहरूले सबै कार्यक्रममा सक्रिय रूपमा भाग लिनेछन् । मधेस प्रदेशका प्रत्येक जिल्लामा हुने र्‍यालीको व्यवस्थापनका लागि मधेस प्रदेश क्रिकेट सङ्घसँग समन्वय भइरहेको पनि खतिवडाले जानकारी दिए ।

वीरगञ्जमा हुने यो विजय उत्सवले एनपीएलमा जनकपुर बोल्ट्सको ऐतिहासिक जितलाई अझ व्यापक रूपमा मनाउने र मधेसमा क्रिकेटप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update