
वीरगञ्ज । बारा जिल्ला अन्तर्गत विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले ६७ लाख ९६ हजार २९ रूपैयाँ बराबरको बिल भरपाईभन्दा बढी तथा स्रोत खुलाउन नसकिएको विभिन्न सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। यी ट्रकहरूमा लोड गरिएको सामानलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।
प्रहरीका अनुसार, गएराति १ः३० बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगंज चोकमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट रूपन्देहीतर्फ जाँदै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गरेको थियो। ट्रकमा प्लास्टिक झोला, पानी तताउने हीटर, औषधि, इलाइची लगायतका विभिन्न खुद्रा सामान लोड गरिएको पाइयो। यी सामानहरूको मूल्य करिब ३१ लाख ८२ हजार ६० रूपैयाँ रहेको प्रहरीको अनुमान छ।
यसैगरी, मंसिर १० गते बिहान १०ः१५ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा खटिएको टोलीले ना ५ ख ७०५२ नम्बरको ट्रकलाई चेकजाँच गरेको थियो। उक्त ट्रकमा हार्डवेयर सामग्री, मोटर पार्ट्स, डाईवेयर वाइल, कल्क लगायतका समान लोड गरिएको पाइयो। यी सामग्रीहरूको मूल्य करिब ३६ लाख १३ हजार ९६९ रूपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बरामद सामानसहित दुवै ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको र थप कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। सभार :- चोइस खबर